
टीकापुर : टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा कार्यपालिकाका जेष्ठ सदस्य रामबहादुर नगार्जी चयन भएका छन्। कार्यपालिकाको ६२औँ बैठकले उनलाई बहुमतका आधारमा सर्वसम्मत रूपमा कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएको हो।

निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि नगरपालिका नेतृत्वविहीन बनेको थियो। कार्यपालिकाका १७ सदस्यमध्ये बहुमत सदस्यको समर्थनमा नगार्जी चयन भएको जानकारी सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले दिएका छन्।
बैठकमा नेकपा, नेपाली कांग्रेस र एमालेबाट निर्वाचित सदस्यहरूको उपस्थिति रहेको थियो। नवनियुक्त कार्यवाहक नगर प्रमुख नगार्जीले सबैको सहकार्य र सुझावका आधारमा नगरको काम कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आजै पदस्थापन गरेका छन्।






























