
सुदूरपश्चिमेली देउडा संस्कृतिको स्वाद बोकेको नयाँ गीत “घरबार भुलाइकन” बुधबार न्यु काफली म्युजिक प्रा. लि.को युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गायकद्वय पदम कार्की र **धनराज भट्ट**को स्वरमा सजिएको गीतले समाजमा देखिने पारिवारिक द्वन्द्व र बहुविवाहजस्ता कुसंस्कारलाई मार्मिक ढंगले चित्रण गरेको छ।

भक्त साउँद ‘चमत्कार’को शब्द र पदम कार्कीको लय सिर्जनामा तयार भएको गीतको एरेन्ज कृष्ण बाजुरेलीले गरेका हुन्। ‘द म्युजिक इरा स्टुडियो’मा अडियो तयार गरिएको यस गीतले बिहेपछि दोस्रो विवाह गर्ने श्रीमान, त्यसबाट उत्पन्न वैवाहिक तनाव र अन्ततः समाजको दबाबमा मिलेर बस्न बाध्य पात्रहरूको कथालाई प्रस्तुत गर्छ।
भिडियोमा हेम प्रकाश भट्ट, मनिषा रावल र प्रिया क्षेत्रीलगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। निर्देशन **रमेश बिजुली बि.सी.**ले गरेका हुन् भने छायांकन अमृत उपाध्यायले सम्हालेका छन्। एडिट र कलर कार्य गणेश साउँद र शंकर साउँदले जुम प्रोडक्सनमार्फत गरेका छन्।


गायक कार्कीका अनुसार समाजमा भइरहेका यथार्थ घटनाबाट प्रेरित भएर गीत तयार गरिएको हो। दर्शक–श्रोताले यसअघि जस्तै माया र साथ दिने विश्वास टिमले व्यक्त गरेको छ। सामाजिक सन्देश बोकेको यो गीतले देउडा पारखीको मन जित्ने अपेक्षा गरिएको छ।





























