
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर वलायर ले देशमा स्थिरता र स्थायित्व कायम राख्न नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताएका छन्। कैलाली क्षेत्र नं. ५ को प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका–१९ फुलवारीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सभापति वलायरले काँग्रेसमाथि चारैतिरबाट प्रहार भइरहेको उल्लेख गर्दै भने, “काँग्रेस कमजोर भए देश नै कमजोर हुन्छ, त्यसैले राष्ट्रको हितका लागि काँग्रेसलाई बलियो बनाउन जरुरी छ।” उनले केही राजनीतिक दलले निर्वाचनलाई हल्का रूपमा लिएको टिप्पणी गर्दै यसपटकको चुनावले देशको भविष्यको दिशा तय गर्ने बताए।

कार्यक्रममा उनले कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवार नरनारायण शाह लाई विजयी गराउन आग्रह गरे। शाह सक्षम, अनुभवी र सुशासनको उदाहरण प्रस्तुत गर्नसक्ने नेतृत्व भएको उल्लेख गर्दै उनले मतदातासँग उत्साहपूर्वक समर्थन मागेका थिए।

































