
डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराले विपी कांग्रेसमा आबद्ध भएका कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट, भरत नेपाली लगायतका नेताहरुलाई पार्टीमा फर्किन आह्वान गरेको छ। सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका यी नेताहरुलाई सक्रिय योगदान दिन आग्रह गर्दै जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गरेका छन्।

विशेषतः प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई फागुन २१ को निर्वाचनमा विजयी गराउन यी सबै नेताहरुले सक्रिय भूमिका खेल्नुपर्ने जनाएको छ।

यसअघि अधिवेशनमा आफूहरुलाई बाइपास गरिएको भन्दै उनीहरु विपी कांग्रेसमा गएका थिए। नेपाली कांग्रेसले स्वतन्त्रता, समानता, लोकतन्त्र र संविधानको रक्षा गर्दै सबै लोकतान्त्रिक शक्तिहरूसँग साझा रणनीति कायम गर्ने पहल सुरु गरेको छ। पार्टीले आफ्ना नेता, कार्यकर्ता र सदस्यहरुलाई साझा उद्देश्यमा गोलबद्ध भएर फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन सार्वजनिक अपिल गरेको छ।






























