
डडेल्धुरामा सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादपछि अलग भएका नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल, करुणाकर भट्ट, हरिप्रसाद भट्ट र भरत नेपाली कांग्रेसमा फर्किन तयार भएका छन्। पार्टीका सभापति भरत नेपालीले जारी गरेको प्रेस विज्ञप्तिमा एकता प्रक्रियामा अघि बढ्ने तयारीको जानकारी दिएका छन्।


विज्ञप्तिमा भनिएको छ कि भ्रष्टाचार, संगठनगत अन्योल र जिल्लामा लोकतान्त्रिक व्यवस्थामा पार्टीको महत्वलाई ध्यानमा राख्दै कांग्रेस (विपी) ले विगतका निर्वाचनमा जनमत प्राप्त गरेको उल्लेख गरिएको छ। पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन डडेल्धुरा जिल्ला र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गरिएको छ।
यसअघि डडेल्धुरा जिल्ला कांग्रेसले पनि पार्टी एकताको आह्वान गर्दै, सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका नेता र कार्यकर्तालाई सक्रिय योगदान दिन आग्रह गरेको थियो।
जिल्ला सभापति भीमबहादुर साउदले सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र कांग्रेसलाई विजयी गराउन आह्वान गरेका छन्।
हाल यी सबै नेता कांग्रेस (विपी) मा सक्रिय छन्। उनीहरू पहिले जिल्ला अधिवेशनमा बाइपास भएको महसुस गर्दै आफ्ना समर्थकसहित कांग्रेस (विपी) मा प्रवेश गरेका थिए। अब पार्टी एकता र साझा अभियानमार्फत डडेल्धुरामा आगामी निर्वाचनमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

































