
कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधि सभाका उम्मेदवार र नागरिकबीच प्रत्यक्ष संवाद कार्यक्रम अत्तरिया जेसीजले आयोजना गरेको छ। फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै, यस कार्यक्रमको उद्देश्य उम्मेदवार र मतदाताबीचको दूरी हटाउँदै लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउनु रहेको वर्ष २०२६ का अध्यक्ष बम बहादुर बोगटीले बताए।

कार्यक्रममा उम्मेदवारहरूलाई आफ्ना एजेन्डा र प्रतिबद्धता राख्न ५ मिनेट समय दिइएको थियो। त्यसपछि दर्शक दीर्घाबाट लिखित रूपमा प्रति उम्मेदवार तीनवटा प्रश्न सोधिने व्यवस्था गरिएको थियो, जसको लागि पनि उम्मेदवारलाई ५ मिनेट समय दिइएको थियो। अन्तमा ५ मिनेट फ्लोर ओपन गरिएको थियो, जसमा प्रत्यक्ष संवाद जारी राखियो।
सवाल–जवाफमा कैलाली–४ को विकास, विपन्न बालबालिकाको शिक्षा, असहाय बालबालिका र महिलाका लागि पहल, कृषि र पर्यटन प्रवर्द्धन, रोजगारमूलक कार्यक्रम लगायतका विषय उठाइएका थिए।


अत्तरियाको नमस्ते पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा उम्मेदवारी दिएका १६ जना उम्मेदवारमध्ये १० जनाले सहभागिता जनाएका थिए। यसबाहेक, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य, शिक्षा, सामाजिक तथा सुरक्षा क्षेत्रका प्रतिनिधिहरू र अत्तरिया र धनगढी जेसीजका सदस्यहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।
यस प्रकारको प्रत्यक्ष संवादले मतदातालाई उम्मेदवारहरूको दृष्टिकोण बुझ्न र सूचित मतदान गर्न सहज अवसर प्रदान गरेको बताइएको छ।
































