
मसुरियाः कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत भएको राजनीतिक सवाल–जवाफले स्थानीय माहोल तातेको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै–गीतमा चुनावी बहस चलेको हो।

कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का गोरखबहादुर बिष्ट (आनन्द बिष्ट) लाई “रूख” चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरिएको थियो। प्रतिपक्षले पनि आफ्ना तर्कहरू डेउडाकै भाकामा प्रस्तुत गर्दै जवाफ फर्काएका थिए।


स्थानीय युवाको उल्लेख्य सहभागिता रहेको जमघटमा उम्मेदवार बिष्ट स्वयं सहभागी हुँदा कार्यक्रमको रौनक झनै बढेको थियो। सांस्कृतिक शैलीमा प्रस्तुत बहसले बजार क्षेत्रमा चुनावी चर्चा चुलिएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि डेउडा प्रतिस्पर्धाले केही समय मसुरिया बजारको वातावरण उत्साहपूर्ण बनाएको थियो।


































