
सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई थप सहभागितामूलक, व्यवस्थित र प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ। यस अभियानले बदर मतको प्रतिशत घटाउने र आम नागरिकलाई मताधिकारको महत्वबारे स्पष्ट जानकारी दिने लक्ष्य राखेको छ।

निर्वाचन आयोगको निर्देशनअनुसार प्रदेशका विभिन्न जिल्लामा ७३४ जना स्वयंसेवक परिचालन गरिएको छ। उनीहरू घरदैलोमै पुगेर मतदाता शिक्षा प्रदान गर्दै, मतपत्र प्रयोग गर्ने तरिका र स्वस्तिक छापको सही स्थानबारे नमूना मतपत्रमार्फत अभ्यास गराइरहेका छन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार स्वयंसेवकहरूलाई आवश्यक तालिम र अभिमुखीकरण प्रदान गरिसकिएको छ। ‘यो महिनाको १ गतेदेखि उनीहरू टोल–टोल र घर–घरमा पुगेर जानकारी दिइरहेका छन्। यसपटक बदर मत उल्लेखनीय रूपमा घट्ने अपेक्षा छ,’ उनले बताए।

मतदाता शिक्षा अभियानमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखिएको छ। विगतको तथ्यांक अनुसार यिनै समूहमा बदर मत बढी देखिएको थियो, त्यसैले लक्षित सचेतना कार्यक्रम अघि बढाइएको हो।































