
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रहेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। मंगलबार धनगढीस्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र कैलाली–५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले चौधरीलाई खादा तथा माला लगाएर स्वागत गरेका हुन्।

पार्टी प्रवेशपछि चौधरीले आफूले निरन्तर उठाउँदै आएका मुद्दा र रास्वपाले अघि सारेका एजेन्डाबीच स्पष्ट समानता देखिएकाले नयाँ राजनीतिक यात्रामा जोडिने निर्णय गरेको बताए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–५ मा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले करिब पाँच हजार मत प्राप्त गरेका थिए।
चौधरीले अब आफूले पाएको जनसमर्थनलाई रास्वपामार्फत अघि बढाउँदै साझा एजेन्डालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।






























