
कैलाली क्षेत्र नम्बर ४ मा अटो व्यवसायीहरूले आफ्ना समस्या समाधानका लागि प्रतिनिधि सभा उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएका छन्। सुदूरपश्चिम अटो यातायात प्रालिले व्यवस्थित अटो स्ट्यान्ड तथा पार्किङ व्यवस्थापनसहित विभिन्न माग राख्दै उम्मेदवारहरू समक्ष ध्यानाकर्षण गराएको हो।

प्रालिका सञ्चालक अध्यक्ष सिताराम कठायतका अनुसार मंगलबार राप्रपाका उम्मेदवार कमल रजबार बम र उज्यालो नेपालका उम्मेदवार सुभाष कुँवरलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको हो।

ज्ञापन पत्रमा स्पष्ट तथा पारदर्शी भाडादर निर्धारण, अटो दर्ता र नवीकरण प्रक्रिया सरल र प्रविधिमैत्री बनाउने, ट्राफिक सचेतना तथा चालक तालिम सञ्चालन गर्ने, सामाजिक सुरक्षा र बिमाको व्यवस्था गर्ने तथा सहर–गाउँका सडक पूर्वाधार सुधार गर्ने माग समेटिएका छन्।

ज्ञापन पत्र बुझ्दै कमल रजबारले अटो व्यवस्थापनमा ट्राफिक प्रहरी र स्थानीय सरकार गम्भीर हुनुपर्ने बताउँदै आफू चुनाव जिते वा हारे पनि व्यवसायीका समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता जनाए।































