
कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १० र ११ मा नेपाली कांग्रेसप्रति मतदाताको विश्वास र समर्थन क्रमशः बढ्दै गएको देखिएको छ। विभिन्न टोल–बस्तीमा गरिएको स्थलगत अवलोकन तथा स्थानीयसँगको छलफलका क्रममा विकास, स्थायित्व र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध शक्तिलाई साथ दिने धारणा प्रबल रूपमा व्यक्त भएको छ।

यी वडाहरूमा बैतडीको सिगास गाउँपालिका, बझाङका भामचौर, देउरा, केदारस्युँ तथा अछामलगायत पहाडी जिल्लाबाट बसाइँसराइ गरी तराईमा बसोबास गर्दै आएका सयौं परिवार रहेका छन्। विशेष गरी उदासीपुर क्षेत्रमा मात्र सिगास गाउँपालिकाबाट आएका करिब तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको बताइन्छ। उनीहरूले आफ्नो बस्तीको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगारी जस्ता आधारभूत आवश्यकतामा ध्यान दिने नेतृत्व रोज्ने धारणा राखेका छन्।


स्थानीयवासीहरू विकासका स्पष्ट एजेन्डा, जिम्मेवार अभिव्यक्ति र निरन्तर जनसम्पर्कलाई प्राथमिकता दिने बताउँछन्। सामाजिक सञ्जालमा देखिने ट्रेन्डभन्दा फरक, वास्तविक मतदाताले परिपक्व र विवेकपूर्ण निर्णय गर्ने स्थानिय गगन धामीले विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ ले विगतदेखि नै यस क्षेत्रमा सक्रिय रूपमा जनसम्पर्क गर्दै विकासका प्रतिबद्धता राख्दै आएका छन्। स्थानीयस्तरमा उठेका मुद्दा सम्बोधन गर्ने अठोटका कारण मतदातामाझ सकारात्मक सन्देश फैलिएको छ।
समग्रमा, गौरीगंगाका मतदाता विकास, स्थायित्व र लोकतान्त्रिक परम्परालाई बलियो बनाउने विकल्पतर्फ उन्मुख देखिएका छन्।

































