सुदूरपश्चिममा ९५% तयारी पूरा, १५ हजार कर्मचारी खटिँदै

Image
Nisarga Hospital

निर्वाचन आयोगअन्तर्गत सुदूरपश्चिम प्रदेशमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि करिब ९५ प्रतिशत तयारी सम्पन्न भएको छ। प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुर्‍याइसकिएको छ भने कर्मचारी व्यवस्थापन अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

CP Hospital Dhangadhi

फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशका ७३४ वटै वडामा अभियान जारी रहेको र कैलालीका १२६ वडासहित सबै क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए।

निर्वाचन स्वच्छ र व्यवस्थित बनाउन करिब १५ हजार कर्मचारी परिचालन गरिनेछ। उनीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ र फागुन १७ गतेभित्र मतदान केन्द्रमा सामग्रीसहित पुग्ने कार्यतालिका तय गरिएको छ। यसपटक मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै दुई मतपत्रमा मतदान गर्नेछन्।

प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ। सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाहबाट सतर्क रहँदै तथ्यमा आधारित सूचना प्रवाह गर्न कार्यालयले सबै पक्षसँग आग्रह गरेको छ।