
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा डोटीका गाउँबस्तीदेखि डाँडाकाँडासम्म चुनावी चहलपहल बढेको छ। खेतबारी, चिया पसल र बजार सबै ठाउँमा चुनावी बहस चलिरहेको छ। जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नौ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ भने रास्वपा उम्मेदवारले पनि समीकरण प्रभावित पार्ने संकेत देखिएको छ।

कांग्रेस उम्मेदवार भरतबहादुर खड्काले संगठनात्मक बल र विगतको स्थानीय तहको नतिजालाई आधार मानेर मत मागिरहेका छन्। एमालेका दिपक धामी युवालाई केन्द्रमा राखेर परिवर्तनको एजेन्डा अघि सार्दैछन्। नेकपा उम्मेदवार त्रिलोचन भट्टले आफूले गरेका विकास कार्यलाई चुनावी आधार बनाएका छन्।

जिल्लामा १ सय १८ मतदानस्थल र १ सय ८० मतदान केन्द्र तोकिएका छन्। १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेको डोटीमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य यसपटक निर्णायक मुद्दा बन्ने देखिएको छ।

































