
कैलालीको धनगढीस्थित मिलन चोकमा बुधबार अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा अटो चालक धनगढी–१ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी–१७ का २९ वर्षीय रवीन्द्र साउद तथा मोटरसाइकल पछाडि सवार डोटीको बडिकेदार–२ का २८ वर्षीय पदम बहादुर साउद घाइते भएका हुन्।
सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






























