
कैलालीको गोदावरी नगरपालिका–१ अनामनगरस्थित घण्टेश्वर/पिनाकेश्वर देवताको नवनिर्मित मन्दिरमा विधिपूर्वक प्राणप्रतिष्ठा तथा वार्षिक जात्रा सम्पन्न गरिएको छ। बुधबार आयोजित कार्यक्रममा रुद्रीपाठ, विशेष पूजाआजा र धार्मिक अनुष्ठानका बीच मन्दिरको औपचारिक शुभारम्भ गरिएको हो।

देवताका मुखिया भीम बहादुर मडैले स्थानीय श्रद्धालु तथा गोदावरी क्षेत्रका घण्टेश्वर देवता मान्ने समुदायको सक्रिय सहभागितामा मन्दिर निर्माण सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्माण कार्यमा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये प्रदेश सरकार, नगरपालिका र वडा नं. १ कार्यालयबाट २३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने करिब १० लाख रुपैयाँ चन्दा संकलन गरिएको छ। चन्दा संकलन अभियान अझै जारी रहेको उनले बताए। मन्दिर निर्माणमा प्रयोग गरिएका काठ सामुदायिक वनबाट सहयोगस्वरूप उपलब्ध गराइएको जनाइएको छ।
डोटीको जोरायलस्थित मूल थानसँग आस्था जोडिएको यस स्थानमा पुर्खाले बास बसेको स्थलमै मन्दिर निर्माण गरिएको बताइएको छ। प्रत्येक वर्ष शुक्ल अष्टमीका दिन यहाँ घण्टेश्वर देवताको जात्रा मनाइने परम्परा रहेको छ। घण्टेश्वर/पिनाकेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिले कार्यक्रमको आयोजना गरेको थियो।
































