
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ। पछिल्लो समय व्यावसायिक फार्ममा बङ्गुरमा उच्च ज्वरो आउने, शरीरमा रातो तथा नीलो धब्बा देखिने र अप्रत्याशित रूपमा मर्न थालेपछि गरिएको परीक्षणबाट रोग पुष्टि भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली परिचालन गरी नमूना संकलन गरेको थियो। प्रारम्भिक ‘रेपिड एन्टिजेन’ परीक्षणमा पोजेटिभ देखिएपछि नमूना केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र पीसीआर विधिबाट संक्रमण पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए।

हाल धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा संक्रमण देखिएको छ। यो रोग घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त सङ्क्रामक र घातक महामारी हो, जसमा मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्छ।

विशेषज्ञहरूले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, शंका लागेमा तुरुन्त पशु सेवा कार्यालय वा प्रयोगशालामा सम्पर्क गर्न र संक्रमण लुकाएर नराख्न आग्रह गरेका छन्। समयमै सावधानी नअपनाए ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिइएको छ।
































