
बैतडीको डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा बुधबार साँझ चुनावी घरदैलो कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ करिब ७ः५० बजे विवाद चर्किँदा हातपात भएको हो।


झडपमा डिलासैनी–७ का लालसिंह धामी, २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन्। घाइतेमध्ये जनक र माधव एमाले कार्यकर्ता हुन् भने लालसिंह रास्वपा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। जनक र माधवलाई गोकुलेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको छ। लालसिंहको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू कुन दलसम्बद्ध हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए।
दुवै दलले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्। एमाले पक्षले रास्वपा कार्यकर्ताबाट आक्रमण भएको दाबी गरेको छ भने रास्वपाले आफ्ना कार्यकर्तामाथि पहिले हमला भएको आरोप लगाएको छ। उम्मेदवारहरू दामोदर भण्डारी (एमाले) र हरिमोहन भण्डारी (रास्वपा) गाउँले दाजुभाइ रहेकाले पनि घटनालाई चासोका साथ हेरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी बीचको झडप चुनावी प्रतिस्पर्धाकै क्रममा चर्किएको हो। यहाँ एमालेका दामोदर भण्डारी र रास्वपाका हरिमोहन भण्डारी गाउँले दाजुभाइ भएर आमनेसामने चुनाव लडिरहेका छन्।
एमालेनिकट राष्ट्रिय युवा संघ बैतडीले रास्वपा कार्यकर्ताले प्रचारबाट फर्कँदै गरेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेको छ। युवा संघ अध्यक्ष यज्ञ भट्टका अनुसार जिपमा रहेका एमाले कार्यकर्तामाथि एक्कासी कुटपिट भएको हो।
तर रास्वपा जिल्ला सभापति भीम नाथले भने मोटरसाइकलमा रहेका आफ्ना कार्यकर्तामाथि सुरुमा एमाले पक्षले जिस्क्याएर आक्रमण गरेको आरोप लगाएका छन्। विवाद बढ्दै जाँदा दुवै पक्षबीच हातपात भएको बताइएको छ।
































