
नजिर मियाँ लाई सुदूरपश्चिम प्रदेशको निर्वाचन सुरक्षा व्यवस्थाबारे चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरूले जानकारी गराएका छन्। प्रदेश प्रमुख निवासमा आयोजित भेटमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखहरूको उपस्थिति रहेको थियो। साथै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारी पनि सहभागी थिए।

प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले एकीकृत सुरक्षा योजनाबारे जानकारी दिँदै यस पटकको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए। आवश्यक परेमा नेपाली सेना स्ट्यान्डबाइ रहने जनाइएको छ। संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको जानकारी दिइएको छ।
नेपाली सेनाका पृतनापति किरण केशीले प्रदेशको समग्र अवस्था शान्तिपूर्ण रहेको उल्लेख गर्दै निरन्तर निगरानी राखिएको बताए। त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले अतिरिक्त प्रहरी परिचालन, निर्वाचन केन्द्रित सुरक्षा योजना तथा फरार कैदीबन्दीको अवस्थाबारे जानकारी गराए। उनका अनुसार अधिकांश कैदी पुनः कारागार फर्किसकेका छन् भने केही भारतमा रहेको अनुमान गरिएको छ।


कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतपत्र ढुवानीदेखि सीमा सुरक्षासम्मको तयारी पूरा गरिएको बताए। खुला सीमाका कारण चुनौती रहे पनि भारतीय पक्षसँग समन्वय गरेर सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।
ब्रिफिङपछि प्रदेश प्रमुख मियाँले सुरक्षा निकायको तयारीको प्रशंसा गर्दै नागरिक र सुरक्षाकर्मीको सहकार्यमा भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आह्वान गरे।
































