
आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीबीच कैलाली क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई पितृ शोक परेको छ। उनका पिता पदम बहादुर भट्टको शनिबार बिहान ७९ वर्षको उमेरमा धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रहेका भट्टको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनले अन्तिम सास फेरेका हुन्।
स्वर्गीय भट्टको पार्थिव शरीरलाई आजै गोदावरी नगरपालिका वडा नम्बर–३, मालाखेतीस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्टि गरिने कार्यक्रम रहेको परिवारले जनाएको छ।

यस दुःखद घडीमा स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले समवेदना व्यक्त गरेका छन्। निर्वाचनको माहोल चलिरहेकै बेला आएको यस घटनाले क्षेत्र नम्बर–४ को चुनावी वातावरण पनि भावुक बनेको छ।

































