
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी का अनुसार फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म कुनै पनि व्यक्ति वा निकायले ड्रोन प्रयोग गर्न पाउने छैन।

अनुमति प्राप्त ड्रोनसमेत अस्थायी रूपमा रोक लगाइएको छ। नियमविपरीत ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
निर्वाचन हुनुभन्दा तीन दिनअघिदेखि लागू गरिएको यो निर्णयले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउने विश्वास लिइएको छ।


यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुर मा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनका अनुसार प्रतिबन्ध उल्लङ्घन गर्ने व्यक्ति वा व्यवसायलाई कानुनबमोजिम कारबाही गरिनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यी निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ।
































