
इजरायल र अमेरिकाको संयुक्त आक्रमणपछि उत्पन्न अड्कलबाजीबीच इरानले आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसीसँगको कुराकानीमा खामेनी जीवित र स्वस्थ रहेको बताएका हुन्।

इजरायली सञ्चारमाध्यमहरूले भने खामेनीको मृत्यु भएको संकेत गर्ने समाचारहरू प्रकाशन गरेका थिए। त्यसको खण्डन गर्दै अराघचीले सरकारी मिडियामार्फत ‘जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो छन्’ भन्ने स्पष्ट पारेका छन्। उनले इरानका अन्य उच्च तहका अधिकारीहरू पनि सुरक्षित रहेको दाबी गरे।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका आक्रमणमा इरानका धेरै उच्च नेतृत्व तहका व्यक्ति मारिएको बताएका छन्। इजरायली पक्षबाट खामेनीको मृत्युको अनुमान सार्वजनिक भइरहँदा इरानले भने त्यसलाई अस्वीकार गर्दै नेतृत्व सुरक्षित रहेको सन्देश दिन खोजेको देखिन्छ।

मध्यपूर्वमा बढ्दो तनावबीच विरोधाभासी दाबीहरू सार्वजनिक भइरहेका छन्। (अलजजिरा)































