
रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी क्षेत्रमा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा उत्साहका साथ पर्व मनाइँदैछ।

विशेषगरी मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। आपसी भेदभाव भष्म गर्दै एक–अर्कामा रङ दल्ने परम्पराले सामाजिक सद्भाव र समानताको सन्देश दिने विश्वास गरिन्छ। पण्डित त्रिलोचन भुर्तेलका अनुसार प्राचीन वसन्तोत्सवका रूपमा सुरु भएको यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण र होलिकासँग जोडिँदै फागु, फगुवा, होरी नामले प्रचलित भयो।
ढोल, मृदङ्ग र डम्फुको तालमा नाचगान, रसरङ्ग र मनोरञ्जनका बीच पर्व मनाइँदैछ। पर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ। कसैको इच्छाविपरीत रङ नदल्न, केमिकलयुक्त रङ प्रयोग नगर्न र आपतकालीन अवस्थामा प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।





























