
धनगढी–१३ कैलाली गाउँमा मंगलबार साँझ होली खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीमाथि अनियन्त्रित आक्रमण भएको छ। प्रहरीले घटनास्थलबाटै १२ जनालाई नियन्त्रणमा लिएको र विस्तृत अनुसन्धान थालेको छ। झडपमा टाउकोमा गम्भीर चोट लागेका असई डबल साउदको अवस्था अझै चिन्ताजनक रहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार प्रारम्भिक विवाद बालबालिकाबीच सुरु भए पनि ठूला मानिसहरू मिसिएर प्रहरीमाथि आक्रमण गरेको देखिएको छ। प्रहरीले योजनावद्ध आक्रमण हो वा उत्तेजित हिंसा भन्ने कोणबाट अनुसन्धान अघि बढाएको छ।

घटनामा घाइते अन्य इन्स्पेक्टर बलराम पाण्डेसहित दुई जना पनि माया मेट्रो अस्पतालमा उपचाररत छन्। भिड नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। प्रहरी गाडीमा क्षति पुगेको र थप हिंसा रोक्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

सुरक्षा र अनुसन्धान दुवै क्षेत्रमा प्रशासन सतर्क छ।





























