
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १२ पूर्वमन्त्री जनताबाट अस्वीकृत भएका छन्। विभिन्न राजनीतिक दलले संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका व्यक्तिहरूलाई उम्मेदवार बनाएका भए पनि मतदाताले विश्वास देखाएनन्।

नेकपाबाट अछाम क्षेत्र–१ मा उम्मेदवार बनेका पूर्वमन्त्री डा। भीमबहादुर रावल नेपाली कांग्रेसका भरतकुमार स्वारसँग ५ सय २६ मतले पछि परे। डोटीमा सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा रहे, जबकि नेपाली कांग्रेसका भरतबहादुर खड्काले १४ हजार ८ सय ९७ मतसहित विजयी भए। कैलाली ५ बाट पूर्वमन्त्री प्रेमबहादुर आले तेश्रो भए, रास्वपाका आनन्दबहादुर चन्दले ३१ हजार ९ सय ५३ मत पाए।
पूर्वमन्त्री बिना मगर कञ्चनपुर–१ मा पराजित भइन्। रास्वपाका जनक सिंह धामीले २४ हजार ३ सय ३२ मत पाउँदै जित हात पारे। प्रकाशबहादुर शाह बाजुराबाट चौथो भए, मानबहादुर सुनार कञ्चनपुर–३ मा चौथो स्थानमा परे। कैलाली–४ बाट लेखराज भट्ट तेश्रो, बैतडीबाट दामोदर भण्डारी तेश्रो, कैलाली–३ बाट गौरीशंकर चौधरी पाँचौ स्थानमा परे।


पूर्वमन्त्री तारा लामा तामाङ, नारायणप्रकाश साउद र जनकराज चौधरी पनि पराजित भए।
सुदूरपश्चिमबाट दुई पूर्वमन्त्रीले मात्र सफलता पाए। एमालेबाट दार्चुलाका गणेशबहादुर ठगुन्ना १८ हजार ८ सय ९१ मतसहित विजयी भए। बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मत पाउँदै चुनाव जिते।
यसरी अधिकांश पूर्वमन्त्रीले जनताको अपेक्षा पूरा गर्न नसक्दा सुदूरपश्चिम प्रदेशमा राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ।
































