
सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायले फागुन २६ गते आफ्नो मुख्य पर्व खख्डेहरा मनाउने अवसरमा सार्वजनिक बिदा दिएको छ। पश्चिम तराइका कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने रानाथारु समुदायको होरी पर्वको अन्तिम दिनका रूपमा खख्डेहरा पर्व मनाइन्छ। समुदायले एक महिना आठ दिनसम्म होरी पर्व आफ्नै मौलिकतासहित मनाउने प्रचलन छ। माघ शुक्ल पूर्णिमामा होरी राखी फागुन पूर्णिमामा जलाएपछि बनाएको खरानीको टिका लगाएर आठ दिनसम्म रमाइलो गरिन्छ।


खख्डेहरा पर्वमा गाउँमा जम्मा भएको अन्न, दाल र मट्याङ्ग्रा भलमन्सा वा पधनाले फुटाउँछन्। डोला खेल, ढोलक, अन्य वाद्यवादन र सांगीतिक कार्यक्रम गरी नाचगान गर्ने चलन रहेको छ। रानाथारु समुदायका उपाध्यक्ष मनोहर रानाका अनुसार यो पर्व केवल रङ्गको उत्सव नभएर समुदायको पहिचान र इतिहास पनि हो। अपनत्व, मिलनसारिता र विभेदरहित समाज निर्माणमा योगदान पुर्याउने यस पर्वलाई नयाँ पुस्ताले सभ्य ढङ्गबाट मनाउन आवश्यक छ।

































