
साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सजग र सतर्क रहन आग्रह गरेको छ। दूतावासले बिहीबार जारी गरेको अनुरोध पत्रमार्फत आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनालाई मात्र विश्वास गर्न र त्यहीअनुसार व्यवहार गर्न सबैलाई आग्रह गरेको हो।

दूतावासले विशेषगरी सामाजिक सञ्जालमा अपुष्ट वा आधिकारिक रूपमा पुष्टि नभएका सूचना, समाचार, फोटो तथा भिडियो पोष्ट वा सेयर नगर्न अनुरोध गरेको छ। साथै सुरक्षाका दृष्टिले संवेदनशील मानिने स्थान, भवन वा संरचनाको फोटो खिच्ने तथा भिडियो बनाउने कार्यबाट टाढा रहन पनि नेपाली समुदायलाई सचेत गराइएको छ।
दूतावासका अनुसार वर्तमान परिस्थितिमा गलत सूचना वा अफवाह फैलिन सक्ने भएकाले त्यस्ता हल्लाको पछि नलाग्न र साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट प्रकाशित समाचारलाई मात्र आधार मान्न आग्रह गरिएको छ। कुनै समस्या परेमा वा आवश्यक जानकारी लिनुपर्ने अवस्थामा सिधै दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।


दूतावासले सहयोग तथा जानकारीका लागि फोन नम्बर ०११–४६१११०८, ०११–२८८३७९५ तथा मोबाइल/ह्वाट्सएप नम्बर ९६६५०००२५९७३ र ९६६५३४३४३२१३ उपलब्ध गराएको छ। त्यसैगरी जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका फोन नम्बर ०१२–६२२६६६५, ०१२–६२२६६८३ र मोबाइल/ह्वाट्सएप नम्बर ९६६५३५०२४१६९, ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ तथा ९६६५३१३२८९५७ मा समेत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
दूतावासले वर्तमान अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न तथा आधिकारिक सूचनालाई मात्र आधार बनाएर आफ्नो सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
































