
अत्तरियाः कैलालीको अत्तरिया बजार क्षेत्रमा पानी जम्ने समस्या दिर्घकालिन समाधान गर्ने उद्देश्यसहित आज बाट नयाँ ढल निकास निर्माणको काम औपचारिक रुपमा सुरु गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सुदुरपश्चिम प्रदेशको ट्रान्जिट पोईन्टको रुपमा रहेको अत्तरिया चोकमा नाली निर्माणको शिलन्यास गर्दै निर्माण कार्यको उद्घाटन गरेका हुन्।

नगर प्रमुख भट्टका अनुसार, अत्तरिया चोक क्षेत्रमा वर्षायाममा पानी जम्ने समस्या लामो समयदेखि स्थानीय बासिन्दाका लागि समस्या बनेको थियो। “निर्वाचनको कारणले रोकिएको काम आजबाट सुरु गरेका छौं। अत्तरिया चोकदेखि पूर्व पट्टीसम्मको नाली पानी निकासको स्तरअनुसार व्यवस्थित गरी दिगो रुपमा निर्माण भइरहेको छ,” उनले बताए।

सडक विभागसँग पटक-पटक अनुरोध गरेपछि ७२ लाखको लगानीमा निर्माण कार्य ठेक्का प्रक्रियाबाट अघि बढाइएको हो।
त्यसै गरी नगर प्रमुख भट्टले भने, संघीय सरकारको ‘रातो किताब’मा उल्लेखित कञ्चनपुरको गड्डा चौकीदेखि अत्तरिया सम्मको सडक निर्माणका लागि २२ अर्ब रकम विनियोजित भएको तथ्य उल्लेख गर्दै, “त्यो योजना तत्काल निर्माण चरणमा आएमा यहाँको यातायात र ढल व्यवस्थापन दुवैमा ठूलो सहयोग पुग्नेछ,” उनले थपे।

अत्तरिया चोकको ढल निकासको निर्माणको ठेक्का पाएको सप्तऋषि कन्ट्रक्सनका निर्माण ब्यवसायी परशुराम भट्टले बताए अनुसार, अत्तरिया चोकमा ४०० घन मिटर करिब ३५० मिटर लम्बाइको नाली निर्माण भइरहेको छ। पुरानै ढक्कन प्रयोग गर्दै, आवश्यक ठाउँमा मात्र नयाँ ढक्कन थपिनेछ। भविष्यमा यस नालीलाई फोर लेन वा सिक्स लेन सडक विस्तारमा समेत प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ।
ब्यवसायी भट्टले भने, “स्थानीय जनताले यो क्षेत्रको समस्या दीर्घकालिन समाधानको अपेक्षा राखेका छन्। त्यसैले काम छिटो, छरितो र दिगो रुपमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौं।”
नगरपालिकाले भनेको छ कि वर्षातको समय सुरु हुनु अघि नै निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको छ। यस पहलले अत्तरिया बजार क्षेत्रमा पानी जम्ने समस्या नियन्त्रणमा ल्याउने मात्र होइन, स्थानीय व्यवसाय र यातायातको सहजतामा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



































