
बझाङमा इनिशा विक हत्याकाण्डको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न समूहले दबाबमूलक विरोध प्रदर्शन गरेका छन्। महिला अधिकारकर्मी, विभिन्न संघसंस्था तथा स्थानीयवासीले आज सदरमुकाम चैनपुर बजारमा प्रदर्शन गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “इनिशा विकलाई न्याय दे”, “हत्यारालाई कारबाही गर”, “छोरी मार्न पाइँदैन”, “न्याय किन्न पाइँदैन, बिकेको न्याय चाहिँदैन” जस्ता नारा लगाएका थिए। केही प्रदर्शनकारीले निर्मला पन्त प्रकरणलाई स्मरण गर्दै बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने आवाज उठाएका थिए।

प्रदर्शनमा सहभागीहरूले नयाँ बन्ने सरकारलाई यस्ता घटनामा कडा कानुन निर्माण गर्न आग्रह गर्दै अपराधीलाई कुनै हालतमा उन्मुक्ति नदिनुपर्ने बताए। उनीहरूले सबै बलात्कार तथा हिंसासम्बन्धी घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्नुपर्ने माग पनि गरेका छन्।

इनिशा विक सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेपछि घटनाले देशभर आक्रोश र चिन्ता बढाएको छ। प्रदर्शनकारीहरूले पीडितलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने बताएका छन्।
































