
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले २०४६ सालपछि भएका सबै भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास कार्यक्रममा उनले भ्रष्टाचारमा कसैले डर देखाउन नहुने र सरकारले छानबिन प्रक्रिया अगाडि बढाउनुपर्छ भनी स्पष्ट पारे।

‘२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ। कसैले खुट्टा नकमाउनुहोस्, हामी साथमा छौँ,’ उनले भने। उनले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको भन्दै विकास र समृद्धिको बाटोमा प्रगति हुने विश्वास व्यक्त गरे। संविधान संशोधनको प्रक्रिया पनि अघि बढ्न सक्ने उनले उल्लेख गर्दै त्यसका लागि शुभकामना व्यक्त गरे।

युवाहरू विदेश पलायन भइरहेको विषयमा चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावमा दिएका आश्वासन पूरा गर्नुपर्ने बताए। प्रदेश संरचना र गणतन्त्र जस्ता संवेदनशील विषयमा स्पष्ट धारणा ल्याउनुपर्नेमा पनि उनले जोड दिए। ‘प्रदेश संरचना भत्काउने हो भने स्पष्ट भन्नुपर्छ, अधिकार दिन्छु भनेपछि दिनुपर्छ,’ उनले भने।

देश विकासका लागि निश्चित समयभित्र स्पष्ट रोडम्याप र कार्यतालिका ल्याउनुपर्नेमा उनले जोड दिए। साथै शिक्षा प्रणाली सुधारेर गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकतामा पनि मुख्यमन्त्री शाहले जोड दिएका छन्।
































