
कञ्चनपुरको नेपाल–भारत सीमामा स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन्। शनिबार बेलौरी–बसही क्षेत्रको ७६९/६ सीमा स्तम्भ नजिक गस्तीमा खटिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ लाख ३६ हजार ९५० नेपाली रुपैयाँसहित पुर्नवास नगरपालिका–२ का राजकुमार अधिकारीलाई नियन्त्रणमा लिएको हो।

एसएसबीका अनुसार अधिकारी भारतबाट नेपालतर्फ आउँदै गर्दा हेलमेटभित्र रकम लुकाएर ल्याइरहेका थिए। जाँचका क्रममा ठूलो रकम फेला परेपछि स्रोतबारे सोधपुछ गरिएको थियो। तर उनले रकमको स्पष्ट विवरण दिन नसकेपछि एसएसबीले उनलाई भारतीय प्रहरीको जिम्मा लगाएको जनाएको छ।

प्रहरीले उनको साथबाट एक पल्सर मोटरसाइकल र दुई थान सामसङ मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि पलिया भन्सार कार्यालय पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

































