
कैलालीको धनगढीमा नयाँ गार्मेन्ट उद्योग ‘किङ हिल्स’ सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन शनिबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले गरेका छन्। उद्घाटन समारोहमा अध्यक्ष ओझाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै उद्योगलाई व्यापारिक क्षेत्रमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।

उद्योग सञ्चालक पत्रकार हर्कसिंह प्रपाला (हरिश) र केशवसिंह बिकले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन्। प्रपाला लामो समय पत्रकारिता गर्दै आएका छन् र एभिन्युज टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख हुन्। सञ्चालक प्रपालाका अनुसार उद्योग ४० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको छ र २५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरिएको छ।

प्रपालाले बताएअनुसार उद्योगले विशेषगरी विद्यालयका लागि पोशाक उत्पादन गर्नेछ। यसले निजी र सरकारी विद्यालयको पोशाक, नेपाली राष्ट्रिय पोशाक, कोट, पाइन्ट जस्ता उत्पादन तयार गर्नेछ। उद्योग सञ्चालनले स्थानीय रोजगार सिर्जना र क्षेत्रीय उत्पादन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।






























