
धनगढीस्थित फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार सम्पन्न निर्णायक खेलमा आलिताल गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै धनगढी उपमहानगरपालिका अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो।

यसअघि नै बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए। मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको आलितालले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो। समीर बिस्टले २४, कप्तान दिल बोहराले १४ र राजु रिजालले १२ रन बनाए।
धनगढीका सन्नी बीकले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। प्रकाश जंग कार्की र विशाल क्षेत्रीले समान २–२ विकेट झारे। ८३ रनको लक्ष्य पछ्याएको धनगढीले १२ ओभरमा ३ विकेट गुमाउँदै सहज जित निकाल्यो। रोहन बीकेले २२ रन बनाए भने सन्नी बीकले ८ बलमा २ छक्कासहित अविजित १९ रनको आक्रामक पारी खेले।
सोमबारका खेलमा पुनर्वास ‘बी’ ले टीकापुरलाई हराउँदै सेमिफाइनल पुगेको थियो। प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। १२ टोली सहभागी प्रतियोगिता चैत ५ गतेसम्म सञ्चालन हुनेछ।






























