
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रको महाकाली नदीमा व्यवसायिक र्याफ्टिङ सोमबारदेखि सञ्चालनमा आएको छ। पानी सप्ताहको अवसर पारेर निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति र स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा साहसिक जलयात्रा सुरु गरिएको हो।


निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीका अनुसार सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत सम्भाव्यता अध्ययन गरिएको र २०२१ मा सफल परीक्षण भइसकेको थियो। सोमबारदेखि दुई वटा र्याफ्टिङ बोट व्यवसायिक रूपमा सञ्चालनमा आएका छन्। पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी र्याफ्टिङ अनुभव गर्न सक्ने व्यवस्था मिलाइएको छ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीका पूर्व अध्यक्ष शिव अधिकारीले महाकाली नदी कम जोखिम र सहज जलयात्राका लागि उपयुक्त भएको बताए। स्थानीय तहका प्रमुख र व्यवसायीले पनि पर्यटन प्रवद्र्घन र पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
र्याफ्टिङको व्यवसायिक सञ्चालनसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने र भीमदत्त क्षेत्र साहसिक पर्यटनको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
































