
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत शारीरिक रूपमा अपाङ्गता भएका विद्यार्थीहरू यस वर्ष पहिलोपटक कक्षा ८ को बोर्ड परीक्षामा सहभागी भएका छन्। उनीहरूको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय सरकारले विद्यालयमै परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ, जुन समावेशी शिक्षातर्फको सराहनीय कदमका रूपमा लिइएको छ।

विद्यालयमा आवासीय रूपमा अध्ययन गरिरहेका सुदूरपश्चिम प्रदेशकै यस्ता विद्यार्थीहरूका लागि परीक्षा केन्द्रमै कुर्सी, काठका पिर्का, ह्विलचेयर तथा लेखन सहयोगीको व्यवस्थापन गरिएको छ। साथै, शिक्षा नियमावली २०५९ अनुसार अतिरिक्त समयको सुविधा दिँदै परीक्षा पूर्ण रूपमा अपाङ्गतामैत्री बनाइएको छ।


यस कार्यमा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष, गोदावरी नगरपालिकाका नगरप्रमुख, परीक्षा समिति तथा शिक्षा, युवा तथा खेलकुद शाखाको सक्रिय समन्वय र सकारात्मक सोचले महत्वपूर्ण भूमिका खेलेको विद्यालय परिवारले जनाएको छ।
विद्यालयका सञ्चालक मानबहादुर साउदका अनुसार नेपालमा समावेशी शिक्षाका नीति बने पनि कार्यान्वयन कमजोर देखिएको अवस्थामा गोदावरीको यो पहल उदाहरणीय बनेको छ। “यस्ता व्यवहारिक कदमले मात्र वास्तविक समावेशी शिक्षा सम्भव हुन्छ,” उनले बताए।
यस पहलले पछाडि पारिएका वर्गलाई मूलधारमा ल्याउने वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ। स्थानीय सरकारको यस्तो सकारात्मक प्रयासले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ, र भविष्यमा अझ उत्कृष्ट तथा समावेशी कामहरू अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।































