
धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ। स्ववियुले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै विरोध जनाएको हो।

स्ववियुको आरोप अनुसार क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गर्दै फर्निचर खरिद गरेको छ। क्याम्पसको हलका लागि आवश्यक सामग्री खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाइएको र कोटेशनसमेत नखोली काम अघि बढाइएको दाबी गरिएको छ।
स्ववियु अध्यक्ष दिपक राज भट्टद्वारा जारी विज्ञप्तिमा यस्तो कार्यले आर्थिक पारदर्शिता मात्र होइन, संस्थाको विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।
विद्यार्थी संगठनले उक्त प्रक्रियाबारे निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, आगामी दिनमा यस्ता अनियमितता दोहोरिन नदिन कडा कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
घटनापछि क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिमा समेत असर पर्ने सम्भावना देखिएको छ।






























