
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्। बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा उनले कानुन र प्रचलित ऐनको प्रावधानअनुसार अस्पताल सञ्चालन हुने स्पष्ट पारे। प्रक्रियागत ढंगबाट सबै काम अघि बढिरहेको भन्दै उनले अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे।


मुख्यमन्त्री शाहले बलिया स्वास्थ्य चौकीबाट स्तरउन्नति भई १५ शैय्याको अस्पताल बनेको लम्कीचुहा नगर अस्पताल हाल ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नति भइरहेको जानकारी दिए। उनले अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी खस्कने छैन भनी प्रष्ट पारे।
प्रदेश सरकारले लम्कीचुहा अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्ट लगायत सदस्य नियुक्त गरेको छ। सन् २०८१ असोज १७ गते बसेको विकास समितिको बैठकले अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने सिफारिस गरेको थियो।
नेपाल सरकारको स्वीकृति र प्रदेश सरकारको निर्णयअनुसार आवश्यक साधन स्रोत व्यवस्थापन गर्दै लम्कीचुहा अस्पताल अब औपचारिक रूपमा प्रदेश सरकार मातहत सञ्चालन हुनेछ। यसले प्रदेशका स्वास्थ्य सेवा क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
































