
चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ बोलको गीत अहिले निकै चर्चा पाएको छ। सार्वजनिक भएको केही समयमै यो गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्यूज पाएको छ। निर्माणपक्षले हालै नयाँ गीत ‘हुम्लाको लिमी’ पनि सार्वजनिक गरेको छ।

गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन्। चलचित्रका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले गीतमा नृत्य गरेका छन्। छायांकन दैलेखमा गरिएको यो गीत माइकल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको हो।

फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका छन्। उपेन्द्र शाही र स्वेता बिमली लगानीकर्ता रहेका फिल्मका कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर र राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेका छन्। संगीतमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको योगदान छ।






























