
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारस्थित ऐतिहासिक ग्वासी समैजी दुर्गादेवी मन्दिरको भव्य रूपमा प्राणप्रतिष्ठा गरिएको छ। वि.सं. २०३७ सालमा स्थापना भएको यस मन्दिरलाई पुनर्निर्माण गरी नयाँ स्वरूप दिइएको हो।

मन्दिर निर्माण समितिका अध्यक्ष नर बहादुर रोकामगरका अनुसार दाताहरूको स्वैच्छिक सहयोग र स्थानीयको जनश्रमदानबाट करिब ६ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो। २०३७ सालमा बस्ती विकासका क्रममा आइलागेका अवरोधहरू देवीको शक्तिले हटेको र त्यसै बेलादेखि मन्दिरको महिमा बढेको स्थानीय समाजसेवी प्रेम बहादुर बोगटीले बताए।
हरेक वर्षको नवरात्रमा विशेष पूजा हुने यस मन्दिरको संरक्षणमा स्थानीय सरकारले भने चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन्। सरकारी निकायको उपेक्षाका बाबजुद जनस्तरबाटै मन्दिरको भव्य पुनर्निर्माण भएपछि भक्तजनहरू उत्साहित देखिएका छन्।






























