
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४, हाटखोलीमा शनिबार अत्तरिया हस्पिटलले स्वास्थ्य शिविरको आयोजना गरी समुदायमा स्वास्थ्य पहुँच विस्तार गरेको छ। स्वास्थ्य शिविरमा फिजिसियन, गाइने, हाडजोर्नी, जनरल सर्जरी लगायतका विशेषज्ञ डाक्टरहरुको उपस्थिति रहेको थियो।

हस्पिटलले सामाजिक उत्तरदायित्वअनुसार गाउँ–बस्तीमै पुगेर नागरिकलाई सेवा दिएको हो। मौषम परिवर्तनसँगै देखिने सामान्य रोगको पहिचान र उपचार गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट करिब २५० जना नागरिकले लाभ उठाए। हस्पिटलका संचालक डिल्लीराज पाठकका अनुसार, शिविरले बजार क्षेत्रभन्दा बाहिरका न्यून आयस्रोत भएका नागरिकलाई प्राथमिकता दिइएको थियो।
शिविरमा स्वास्थ्य जाँचका साथै आवश्यक औषधी पनि वितरण गरिएको थियो। विपन्न परिवारका नागरिकलाई लक्षित गर्दै, अत्तरिया हस्पिटलले स्वास्थ्य सामग्री र दक्ष डाक्टरहरुको व्यवस्थापन गरेर सेवा प्रदान गरेको हो।
अत्तरिया हस्पिटलका अध्यक्ष ऐरले भने, “बजार क्षेत्रभन्दा टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउन हामी आगामी दिनमा पनि सक्रिय रहँदै जेसिज अग्रपंतीमा रहेर कार्यक्रम सञ्चालन गर्नेछौं।”
यस पहलले अत्तरिया हस्पिटलको स्वास्थ्य पहुँच विस्तार र सामाजिक उत्तरदायित्वमा देखाएको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। गाउँ–सहर बीच स्वास्थ्य सेवा पहुँच बढाउँदै हस्पिटलले समुदायमा विश्वास र सन्तुष्टि सिर्जना गरेको छ।

































