
संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनाव चर्किँदै जाँदा इरानद्वारा व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा गरिएका आक्रमणको कडा निन्दा गरेका छन्। इरानी सैन्य प्रवक्ताले युएईको रस अल–खैमाहलाई लक्षित चेतावनी दिएपछि अन्तर्राष्ट्रिय चासो झन् बढेको हो। इरानले आफ्नो सार्वभौमिकतामाथि आक्रमण भए कडा प्रत्याक्रमण गर्ने दोहोर्याएको छ।

यसैबीच, युएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत तीन ब्यालेस्टिक मिसाइल र आठ ड्रोन खसालेको जनाएको छ। हालसम्म सयौँ मिसाइल र हजारौँ ड्रोन निष्क्रिय पारिएको दाबी गरिएको छ। ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा बढ्दो अस्थिरताले विश्वव्यापी व्यापार र ऊर्जा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको भन्दै सम्बन्धित देशहरूले इरानलाई आक्रमण र धम्की तुरुन्त रोक्न आग्रह गरेका छन्।
फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वले मध्यपूर्वमा व्यापक अस्थिरता र विनाश निम्त्याएको छ।

































