गोदावरीमा पोषण सुधारको नयाँ अभियान: लक्षित कार्यक्रमसहित सल्लाहकार समिति बैठक सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिकामा पोषण सुधारलाई केन्द्रमा राख्दै नगरपालिका स्तरीय पोषण परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। “Nurture Every Future: Poshan Nepal” अभियानअन्तर्गत आयोजित उक्त बैठकले स्थानीय तहमा कुपोषण न्यूनीकरण र खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने रणनीति तय गरेको छ।

CP Hospital Dhangadhi

बैठकमा नगर उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, सामाजिक विकास संयोजक तथा वडा न. ९ का वडा अध्यक्ष रामलाल राना, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीसहित आडिई संस्थाका प्रतिनिधि दामोदर भट्ट, याक नेपाल अध्यक्ष हृदय पुजारा, याक नेपालका रमण जोशी, याक नेपाल  गोदावरी प्रतिनिधी विमला रावल लगायत अन्य कर्मचारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।  कार्यक्रममा विगतमा सञ्चालन गरिएका पोषणसम्बन्धी कार्यक्रमहरूको समीक्षा गर्दै आगामी योजनाहरू प्रस्तुत गरिएको थियो।

प्रस्तुत विवरणअनुसार, गोदावरी नगरपालिकामा हालसम्म ६,१५५ बालबालिकामध्ये १७ जना कडा कुपोषित र १९९ जना मध्यम कुपोषित रहेका छन्। त्यस्तै, ४५४ महिलाको परीक्षणमा १० जना कडा र ४९ जना मध्यम कुपोषणको अवस्थामा भेटिएका छन्। यस अवस्थालाई सुधार गर्न लक्षित कार्यक्रमहरूलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ। १९९ जना मध्यम कुपोषित बालबालिकालाई जनही २,५०० रुपैयाँ बराबरका खाद्य तथा पूरक पोषण सामग्री वितरण गरिएको छ।

विशेषगरी वडा नं. ९, ११ र १२ मा केन्द्रित कार्यक्रममार्फत कुपोषण न्यूनीकरण, खाद्य विविधीकरण र पोषणयुक्त आहारको पहुँच विस्तार गर्ने योजना बनाइएको छ। स्थानीय स्वास्थ्य संस्थामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै महिला, बालबालिका तथा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखिदै आएको परियोजनाले जनाइएको छ।

नगर उपप्रमुख रोकायाले सबै वडामा पोषण सचेतना विस्तार गर्दै दातृसंस्था र स्थानीय निकायबीच सहकार्यमार्फत प्रत्येक घरमा पोषणयुक्त खाना सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सामाजिक विकास संयोजक तथा वडा नं. ९ का वडा अध्यक्ष रामलाल रानाले बैठकमा स्थानीय तहमा पोषण सुधारको महत्व औँल्याउँदै विगतका कार्यक्रमहरूको समीक्षा गरे। उनले आगामी योजनाहरू मार्फत कुपोषण न्यूनीकरण र खाद्य सुरक्षा थप प्रभावकारी बनाउने लक्ष्य प्रस्तुत गरे।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको समन्वय नै कार्यक्रम सफलताको आधार हुने बताउँदै कार्यान्वयनमा दृढता आवश्यक रहेको उल्लेख गरे।

oplus_0

परियोजनाअन्तर्गत पोषण बगैँचा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँईदै आएको थियो । २५ जना अगुवा कृषकलाई चार दिने तालिम दिइएको छ भने प्रत्येकलाई २० हजार रुपैयाँ किसान कार्डमार्फत सहयोग गरिएको छ। त्यस्तै, ३९२ आमालाई २,५०० रुपैयाँका दरले सहयोग, ७९ जना नयाँ हजार दिने महिलालाई ५,५०० रुपैयाँका दरले सहायता तथा ७५ जनालाई बिउबिजन वितरण गरिएको छ। पालिका भित्रका हजारौ किसानलाई किसान कार्ड निर्माण तथा डाटा संकलनमा ठुलो योगदान रहेको छ ।

यसका साथै गड्यौला मल उत्पादन, पोस्ट हार्भेस्ट तालिम, कृषि उपकरणसम्बन्धी तालिम, सिकाइ केन्द्रलाई सहयोग, समूहस्तरीय बजार व्यवस्थापन र कृषि बाली पात्रो वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्। विद्यालय र आमा समूहमार्फत पोषण सचेतना अभिवृद्धि गर्न २५ भन्दा बढी समूहलाई सहयोग गरिएको छ।

आगामी दिनमा कडा कुपोषण भएका बालबालिका र गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी खाद्य तथा पूरक पोषण सामग्री वितरण, पोषण बगैँचा विस्तार, नियमित अनुगमन तथा खानेपानी–सरसफाइ सुधार कार्यक्रमलाई प्राथमिकता दिइने योजना छ। साथै, कुपोषित बालबालिकाका लागि कुखुरा पालन कार्यक्रम र फिल्टर वितरणजस्ता नविन पहल पनि अघि बढाइने जनाइएको छ।

समग्रमा, गोदावरी नगरपालिकाले पोषण सुधार, खाद्य सुरक्षा र स्वास्थ्य प्रणाली सुदृढीकरणलाई एकीकृत रूपमा अघि बढाउँदै दीगो र समावेशी विकासतर्फ महत्वपूर्ण कदम चालेको विश्वास गरिएको छ।

कैलालीको गोदावरी नगरपालिकामा पोषण बैठक सम्पन्न, कुपोषण न्यूनीकरणका लागि पोषण बगैँचा, खाद्य सहयोग र सचेतना कार्यक्रम अघि बढाइने निर्णय।