
कैलालीको गोदावरी नगरपालिका–१२ चौकीका १७ वर्षीय हेमन्त बडैला क्यान्सर रोगसँग जुधिरहेका छन् । विगत एक वर्षदेखि उपचारमा रहेका हेमन्तको स्वास्थ्य अवस्था सुधार नहुँदा परिवारले सहयोगको अपिल गरेको हो।

हेमन्तका दाइ मनिष बडैलाका अनुसार गत वर्ष माघदेखि भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा करिब १४–१५ लाख रुपैयाँ खर्च भइसकेको छ। आर्थिक रूपमा कमजोर परिवारले उपचार धान्न नसक्ने अवस्था आएपछि सहयोगको आवश्यकता परेको उनले बताए।
हाल हेमन्तको उपचार बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार उनको घुँडामा क्यान्सर देखिएको छ र अहिले इम्युनोथेरापी चलिरहेको छ। तर अपेक्षित सुधार नआई समस्या झन् जटिल बन्दै गएको परिवारको भनाइ छ।
उनका बुवा भारतको सुरतमा रोजगारीमा रहेका छन् भने दाइले पनि काम छोडेर भाइको उपचारमा जुटिरहेका छन्। आर्थिक अभावका कारण उपचार प्रभावित हुने जोखिम बढेपछि परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ। सहयोगका लागि ९७४३५९०७५० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।






























