
इजरायलमा इरानबाट भइरहेको लगातार क्षेप्यास्त्र र ब्यालेस्टिक मिसाइल आक्रमणले नेपालीहरू सहित सर्वसाधारण त्रसित बनेका छन्। दक्षिणी शहर अराद, उत्तरी दिमोना र राजधानी तेल अविवमा आक्रमण तीव्र हुँदै गएको छ। मिसाइल प्रतिरक्षा प्रणाली पहिलेभन्दा कमजोर देखिएको छ।

एनआरएनए आईसीसी सदस्य अलि महम्मद मियाँका अनुसार हालसम्म इजरायलमा रहेका नेपालीहरू प्रत्यक्ष रूपमा घाइते भएका छैनन्, तर बढ्दो त्रास र सुरक्षा चिन्ता उच्च छ। घर तथा कार्यस्थलमा बंकर उपलब्ध भए पनि वृद्ध, अशक्त र केयरगिभरको लागि तत्काल पहुँच कठिन भइरहेको छ। साइरन बज्नु अघि केवल १० मिनेटको चेतावनी समय छ, जसले नेपालीहरूलाई जोखिममा राख्दैछ।

एनआरएनए इजरायलले प्रभावित नेपालीहरूलाई सम्पर्कमा आउन र उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। लगातार बढ्दो आक्रमणले युद्ध लामो समयसम्म जारी रह्यो भने स्थिति अझ जटिल हुने देखिएको छ।

































