
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा डोटीबाट सुरु भएको ‘जलयात्रा महोत्सव’ कैलाली हुँदै टीकापुरसम्म कर्णाली नदी मार्गमा अघि बढिरहेको छ। ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको आधार’ नारासहितको महोत्सवमा र्याफ्टिङ कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ, बोगटान फुड्सिल गाउँपालिका, मोहन्याल गाउँपालिका, पञ्चपुरी र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा आयोजित महोत्सवमा २५ विदेशी पर्यटक र २५ नेपाली गाइड–चालक सहभागी छन्। कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालि, चिसापानीले प्राविधिक सहयोग उपलब्ध गराएको छ।

प्रदेश पर्यटन कार्यक्रमका प्रमुख डबलबहादुर बोहराले लामो दूरीको र्याफ्टिङ सम्भाव्यता अध्ययनसँगै साहसिक पर्यटन प्रवर्द्धनमा महोत्सवले टेवा पुग्ने बताए। सचिव दीर्घनारायण कोइरालाले सेती किनारमा सहभागीलाई स्वागत गर्दै औपचारिक शुभारम्भ गरेका थिए।

महोत्सवलाई बुद्ध एयरलाइन्स, होटल एल अफ ठमेल, सालिनी बाटिका, इको रिसोर्ट गोदावरी, रिभरसाइड होटल र वर्षा होटलले पनि सहयोग गरेका छन्।
































