
रमेश बहादुर सिंह /बझाङः खप्तड क्षेत्रको समग्र विकास र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले खप्तड विकास समितिको अध्यक्षमा जमुना चन्द नियुक्त भएकी छन्। चन्द बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १० निवासी हुन्।

समितिको सदस्यमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी नियुक्ति गरिएको छ। सदस्यहरूमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङका गोकुलदेवी सिंह रहेका छन्।
यसअघि खप्तड विकास समितिको नेतृत्व प्रायः पुरुषकै हातमा रहने गरेको थियो। तर यसपटक महिलालाई अध्यक्षको जिम्मेवारी दिइनु महिला नेतृत्वप्रति विश्वास र सम्मानको रूपमा हेरिएको छ। राजनीतिक दलले पनि महिलालाई नेतृत्व तहमा अघि बढाउने प्रतिबद्धता अनुसार यो निर्णय गरिएको बुझिएको छ।


नवनियुक्त अध्यक्ष चन्दले खप्तड क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्दै पूर्वाधार विकास, वातावरण संरक्षण र स्थानीय रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। महिला नेतृत्वको आगमनसँगै समावेशी र दिगो विकासले थप गति लिने अपेक्षा गरिएको छ।
खप्तड क्षेत्र धार्मिक, पर्यटकीय तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ। नयाँ नेतृत्व आएपछि यसको विकासमा नयाँ ऊर्जा थपिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।





























