
नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरी ले कर्मचारीहरूलाई गतिशील र परिणाममुखी भएर काम गर्न निर्देशन दिएकी छन्। सिंहदरबारमा पदबहाली गर्दै उनले नयाँ सरकारले जनताको अपेक्षाअनुसार तत्कालीन र दीर्घकालीन योजना बनाएर देश विकासमा अघि बढ्ने स्पष्ट पारिन्।

मन्त्री चौधरीले कृषि क्षेत्रको सबैभन्दा ठूलो समस्या रासायनिक मल अभाव रहेको बताउँदै कृषिप्रधान देशमा किसानले मल नपाउनु गम्भीर विडम्बना भएको उल्लेख गरिन्। मन्त्रालयका अधिकारीहरूले बजेट अभाव, मल आपूर्ति, दूध मूल्य, बिमा भुक्तानी, सिँचाइ र कृषि कर्जाजस्ता चुनौतीबारे जानकारी गराएका थिए।
नेपालमा वार्षिक सातदेखि आठ लाख मेट्रिकटन मल आवश्यक पर्ने र त्यसका लागि करिब ५० अर्ब बजेट चाहिने तथ्य पनि प्रस्तुत गरिएको छ। मन्त्री चौधरीले समस्या समाधानका लागि समन्वय र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।






























