धनगढीमा अपाङ्गता भएका नागरिकलाई खोजी–खोजी सहायक सामग्री वितरण : ४ वर्षमा ४९४ लाभान्वित

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा अपाङ्गता भएका नागरिकलाई लक्षित गर्दै ४९४ जनालाई निःशुल्क सहायक सामग्री वितरण गरेको छ। २०७९ सालदेखि सुरु गरिएको यस अभियानमार्फत हालसम्म २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ। अभियानको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिको जीवन सहज, सम्मानपूर्ण र आत्मनिर्भर बनाउनु रहेको हो।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाले व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, ट्राइसाइकल, क्रचेज, कमोड चेयरलगायत आवश्यक उपकरण वितरण गर्दै आएको छ। स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार आवश्यक व्यक्तिको पहिचानका लागि प्रत्येक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ शिविर सञ्चालन गरिन्छ। त्यसपछि पहिचान भएका व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई २०५ सामग्री, २०८०/८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१/८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२/८३ मा २५७ जनाको स्क्रिनिङ गरी ३१८ सामग्री वितरण गरिएको छ। क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनालाई १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनालाई १२५ सामग्री, जुगेडामा ९० जनालाई ९५ सामग्री, बेलामा ६२ जनालाई ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनालाई ११३ सामग्री उपलब्ध गराइएको छ।

यस अवधिमा १४६ व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको छ। हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अघि बढाइएको छ।

नगर प्रमुख गोपाल हमालले अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्‍याउन स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए। उनले धनगढीका १९ वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिलाई खोजी–खोजी सेवा प्रदान गरिँदै आएको उल्लेख गरे।