
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ। गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री रमेश लेखक र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरिएको भन्दै आपत्ति जनाएको हो।

काँग्रेसले आयोगको कार्यादेशअनुसार भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा २४ गते मात्र केन्द्रित भई मानवीय क्षति, सरकारी संरचना, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको नोक्सानीबारे मौन रहेको आरोप लगाएको छ। यसले प्रतिवेदन पक्षपातपूर्ण देखिएको काँग्रेसको दाबी छ।

प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा नेता लेखक र अध्यक्ष ओलीलाई अवैध रूपमा हिरासतमा राखिएको भन्दै संविधान र कानुनविपरीत कार्य भएको ठहर गरिएको छ। उनीहरूको तत्काल रिहाइको माग गर्दै काँग्रेसले सरकारको कदमको कडा भर्त्सना गरेको छ।


































