
दिपायल सिलगढी नगरपालिकाअन्तर्गत दिपायल र सिलगढी क्षेत्रमा चल्ने जिप चालकहरूले नगर बस सञ्चालनको ढाँचाप्रति असन्तुष्टि जनाउँदै आइतबारदेखि सेवा बन्द गरेका छन्। नगर बसले सीमित क्षेत्रमा मात्र सेवा दिँदा आफूहरू मर्कामा परेको चालकहरूको आरोप छ।

जिप चालक गोविन्द मलासीका अनुसार नगर बसले दिपायल–सिलगढी क्षेत्रमै मात्र आवतजावत गर्दै अन्य रुटलाई बेवास्ता गरेको छ। यसले व्यवसायमा प्रत्यक्ष असर पारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको उनले बताए।
चालकहरूले तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडा क्षेत्रसम्म पनि नगर बस विस्तार गर्नुपर्ने माग गरेका छन्। सबै क्षेत्रमा समान सेवा सञ्चालन भए मात्र प्रतिस्पर्धा न्यायोचित हुने उनीहरूको भनाइ छ।
शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन्। सेवा ठप्प भएपछि यात्रुहरू आवतजावतमा कठिनाइ भोगिरहेका छन्। स्थानीयले तत्काल समाधानको माग गरेका छन्।






























