
इरानबाट भारतको राजधानी नयाँदिल्ली आउन तयारी अवस्थामा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ। महान एयरलाइन्सको उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा हमला भएको हो। औषधि र अत्यावश्यक राहत सामग्री लिएर आउने तयारीमा रहेको विमानमाथिको आक्रमणले अन्तर्राष्ट्रिय तनाव थप चर्किएको छ।

यसैबीच अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व ३१औँ दिनमा प्रवेश गरेको छ भने स्थिति अझै तनावपूर्ण बनेको छ। तनाव घट्ने कुनै संकेत देखिएको छैन।

युरोपेली संघ (ईयू) ले इरानमाथि लगाएको मानवअधिकारसम्बन्धी प्रतिबन्धलाई थप एक वर्षका लागि विस्तार गर्दै २०२७ अप्रिल १३ सम्म लागू गर्ने निर्णय गरेको छ। प्रतिबन्धित व्यक्ति तथा संस्थालाई यात्रा रोक, सम्पत्ति जफत र उपकरण निर्यातमा रोक लगाइनेछ।

साथै, इरानको संसदले होर्मुज जलडमरूमध्य व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ, जसअनुसार जहाजबाट शुल्क उठाउने र अमेरिकी–इजरायली जहाजमाथि प्रतिबन्ध लगाउने प्रावधान समावेश गरिएको छ।































